काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले आज आफ्नो कार्यकालको सय दिने उपलब्धि सार्वजनिक गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले सय दिनमा सम्पन्न भएका कामको समीक्षा गर्दै प्रमुख उपलब्धिहरू सार्वजनिक गरेको हो।
जेन–जी आन्दोलनपछि सम्पन्न निर्वाचनपश्चात् चैत १३ गते गठन भएको सरकारले सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै सय दिनभित्र गर्ने कार्यसूची अघि सारेको थियो।
सरकारले सार्वजनिक गरेको विवरणअनुसार प्रमुख उपलब्धिहरूमा २०४८ सालपछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी समस्या समाधान, सिंहदरबार तथा काठमाडौं केन्द्रित पहुँचवाला कर्मचारीको व्यवस्थापन, कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल तथा सरकारी र सार्वजनिक जग्गा फिर्ता गर्ने प्रयास समावेश छन्।
त्यस्तै मन्त्रालयको संख्या घटाउने, अनावश्यक दरबन्दी हटाउने, सेवाप्रवाहमा सुधार, प्रक्रियागत झन्झट कम गर्ने, सयभन्दा बढी कानुन संशोधनको तयारी, भ्रष्टाचार तथा वित्तीय अपराधमा आक्रामक छानबिन, निर्णय प्रक्रिया सुधार तथा कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणाली लागू गर्ने कार्यलाई पनि सरकारले आफ्नो प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेको छ।
