काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मधेसी नेता तथा सांसदहरूमा पछिल्लो समय असन्तुष्टि बढ्दै गएको देखिएको छ। प्रतिनिधिसभामा रास्वपाका सांसद पुरुषोत्तम यादवले व्यक्त गरेको धारणा सार्वजनिक भएपछि पार्टीभित्रको असन्तुष्टि फेरि चर्चामा आएको हो।
पार्टीकै मधेसका नेताहरूले सरकार र नेतृत्वप्रति खुलेर असन्तुष्टि जनाउन थालेका छन्। यसअघि डा. अमरेशकुमार सिंह र मनिष झाले पनि नेतृत्वको कार्यशैलीप्रति आलोचना गरेका थिए।
जनकपुरका प्राध्यापक डा. भोगेन्द्र झाका अनुसार मधेस मात्र नभई उत्पीडित समुदायहरूमा पनि असन्तुष्टि बढिरहेको छ। उनका अनुसार संसद्मा मधेसी सांसदहरूले व्यक्त गरेका धारणा त्यसैको संकेत हुन्।
रास्वपाले मधेस प्रदेशका ३२ मध्ये ३० प्रतिनिधिसभा सिट जिते पनि पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा मधेसलाई पर्याप्त स्थान नदिएको गुनासो पार्टीभित्रैबाट उठिरहेको छ। महाधिवेशनपछि पदाधिकारीमा एक जना पनि मधेसी नेता नपर्नु र खुला केन्द्रीय सदस्यमा समेत प्रतिनिधित्व कमजोर रहनुलाई असन्तुष्ट पक्षले उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।
पार्टीका केही मधेसी नेताहरूले सरकार र पार्टी सीमित नेतृत्वको निर्णयमा चलेको, नियुक्ति प्रक्रियामा आफूहरूसँग परामर्श नगरिएको तथा प्रदेशका नेताहरूलाई बेवास्ता गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार विभिन्न सार्वजनिक निकायमा नियुक्ति गर्दा मधेसका नेताहरूसँग कुनै समन्वय गरिएको छैन।
यस्तै, जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेलेका शिव यादव, पुरुषोत्तम यादव, बब्लु गुप्ता तथा निर्वाचन जितेका तपेश्वर यादवलाई पनि मन्त्री नबनाइएको विषयलाई लिएर असन्तुष्टि बढेको बताइएको छ। महाधिवेशनमा पराजित भएका मनिष झालाई पनि सरकारमा समावेश नगरिनुले नेतृत्वप्रति प्रश्न उठेको छ।
साहित्यकार धिरेन्द्र प्रेमर्षीले भने लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै महाधिवेशनमा पराजित भए पनि मनिष झाको सार्वजनिक चर्चा र राजनीतिक सक्रियता नै उनको राजनीतिक प्रभाव कायम रहेको संकेत भएको टिप्पणी गरेका छन्।
मधेसका नेताहरूले केन्द्रीय सदस्य तथा पदाधिकारी मनोनयन बाँकी रहेकाले त्यसमा पार्टीले गर्ने निर्णयपछि आफ्नो आगामी धारणा तय गर्ने बताएका छन्। उनीहरूको भनाइमा सरकार गठन भएको सय दिन बितिसक्दा पनि मधेसमा संगठन विस्तार र नेतृत्व व्यवस्थापनले अपेक्षित प्राथमिकता पाउन सकेको छैन।
