• Monday 5th of October 2026

यसकारण पक्राउ परे इन्स्पेक्टर कल्पना गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा लेखा प्रमुखका रूपमा कार्यरत इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ परेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गुरुङ र उनका साथी लीला लामालाई शनिबार ठमेलबाट पक्राउ गरिएको हो। उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार विद्यालयको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा राखेर दुरुपयोग गरिएको आरोप छ। उजुरीमा विगत चार वर्षको अवधिमा करिब साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखी अनियमितता गरिएको दाबी गरिएको छ।

यस घटनाबारे सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले चार आर्थिक वर्षको बैंकिङ कारोबारको विवरण मागेर आन्तरिक छानबिन अघि बढाएको थियो। गुरुङ सशस्त्र प्रहरी नायव निरीक्षक (सई) हुँदा देखि एपीएफ स्कुलको लेखा शाखामा कार्यरत रहेकी थिइन् र इन्स्पेक्टरमा बढुवा भएपछि पनि सोही जिम्मेवारीमा निरन्तर कार्यरत थिइन्।

अनियमिततामा अन्य केही अधिकारीको समेत संलग्नता हुन सक्ने आशंकामा कल्याण महाशाखामा कार्यरत लेखापाल डीएसपी महेन्द्र हमालमाथि पनि छानबिन भइरहेको बताइएको छ। एपीएफ स्कुल सशस्त्र प्रहरीको कल्याण बजेटबाट सञ्चालन हुँदै आएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖