काठमाडौँ, असार २२ — नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिदसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मोहनबहादुर बस्नेतलाई विशेष अदालतले सफाइ दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार फैसला सुनाउँदै बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको हो।
यसै मुद्दामा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासहित तीन जनालाई भने दोषी ठहर गरिएको छ। दोषी ठहर भएका अन्य दुई जनाको सजाय निर्धारणसम्बन्धी विवरण अदालतको पूर्णपाठपछि स्पष्ट हुने अपेक्षा गरिएको छ।
यस्तै, प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थलगायत १९ जना प्रतिवादीले पनि सफाइ पाएका छन्। साथै परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्सलाई समेत अदालतले आरोपबाट सफाइ दिएको छ।
