• Monday 5th of October 2026

प्रेमीसँग मिलेर नर्सद्वारा श्रीमान्‌को बीभत्स हत्या: छतबाट खसाउँदा जोगिएका श्रीमान्‌लाई सलाइनमा ट्वाइलेट क्लिनर मिसाएर मारियो


  • धनकुटा खबर
  • .

तेलङ्गाना । भारतको तेलङ्गाना राज्यमा एक नर्सले प्रेमीसँग मिलेर आफ्नै ३५ वर्षीय श्रीमान्को हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार घटनामा संलग्न ३२ वर्षीया सन्ध्या, उनका प्रेमी अनिल र प्रेमीका साथी वेङ्कट साई पक्राउ परेका हुन्। घटना तेलङ्गानाको निजामाबाद जिल्लास्थित न्यालाकल गाउँमा भएको हो।

अनुसन्धानअनुसार गत जुन ३० मा आरोपितहरूले मृतक प्रशान्तलाई अत्यधिक मदिरा सेवन गराएर कुटपिट गरेपछि घरको छतबाट धकेलेका थिए। गम्भीर घाइते भए पनि उनी जीवित रहेपछि उपचारका लागि अस्पताल लगिएको थियो।

प्रहरीको दाबीअनुसार निजी अस्पतालमा नर्सका रूपमा काम गरिसकेकी सन्ध्याले आफ्नो चिकित्सकीय ज्ञानको दुरुपयोग गर्दै अस्पतालमा उपचाररत श्रीमान्को सलाइन ड्रिपमा ट्वाइलेट क्लिनर र एनेस्थेसिया औषधि मिसाएको आरोप छ। त्यसपछि प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि मृतककी आमाले बुहारीको व्यवहारप्रति शङ्का व्यक्त गर्दै प्रहरीमा उजुरी दिएकी थिइन्। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि घटनाको रहस्य खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार सोधपुछका क्रममा सन्ध्याले आफ्नो संलग्नता स्वीकार गरेकी छन् भने वेङ्कट साईले पनि पहिलो चरणमा छतबाट धकेल्ने योजनामा सहभागी रहेको स्वीकार गरेका छन्। पक्राउ परेका तीनै जनालाई अदालतमा उपस्थित गराइएकोमा न्यायालयले उनीहरूलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖