काठमाडौ । पाँचथरका रोशन पोखरेललाई प्रधानमन्त्री बालेन (वालेन्द्र) शाह तथा अन्य नेताविरुद्ध युट्युबसहित सामाजिक सञ्जालमा अपमानजनक र गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
जिल्ला अदालत पाँचथरले विद्युतीय कारोबार ऐनअन्तर्गत दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै पोखरेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। अदालतका श्रेस्तेदार राजकुमार निरौलाका अनुसार उक्त आदेश न्यायाधीश कुमार मास्केको इजलासबाट भएको हो।
प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। युट्युबमा गालीगलौज गरेको आरोपमा पक्राउ परेपछि देशभर विरोध चर्किएको थियो। त्यसपछि प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो।
तर, प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
अभियोगपत्रमा प्रधानमन्त्री बालेन शाह तथा उनको परिवारको मान–सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी युट्युब, फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत अपमानजनक तथा अमर्यादित भिडियो, स्टाटस र अन्य सामग्री प्रसारण गरेको आरोप पोखरेलमाथि लगाइएको छ।
