काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भावुक प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले गणेश नेपालीमा आफूले आफ्नै प्रतिबिम्ब देखेको उल्लेख गरेका छन्।
धुर्मुसले लेखेका छन्, “लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको म, गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देख्छु। राज्य सबै नागरिकको साँचो अभिभावक बनोस्। देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण बनोस्।”
उनले भविष्यमा कुनै पनि नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था नआओस् भन्ने कामनासमेत व्यक्त गरेका छन्।
धुर्मुसको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएको छ।
