• Monday 5th of October 2026

ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या


  • धनकुटा खबर
  • .

ललितपुर, असार २६ — ललितपुरको ग्वार्कोमा एक युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटना असार २४ गते राति करिब ८ बजे ललितपुर महानगरपालिका–१७, ग्वार्कोस्थित एक ग्यारेजमा भएको थियो। ग्यारेजमा चोरी गर्न आएको आशंकामा महालक्ष्मी नगरपालिका–४ निवासी अशोक कार्की (अशोक सुबेदी) माथि निर्घात कुटपिट गरिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका सुबेदीलाई तत्काल उपचारका लागि किष्ट अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरेको थियो।

घटनापछि फरार रहेका अभियुक्तहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलको संयुक्त टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–६ घर भई हाल ग्वार्को बस्ने २६ वर्षीय गणेश मगर र ललितपुर गोदावरी नगरपालिका–१०, चापागाउँ निवासी २६ वर्षीय मनोज दहाल रहेका छन्।

प्रहरीले दुवै अभियुक्तलाई प्रहरी वृत्त सातदोबाटोमा राखी कर्तव्य ज्यान मुद्दामा ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖