काठमाडौ । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका ४५ वर्षीय व्यवसायी आश्विन राउतको अवस्था गम्भीर रहेको छ।
प्रहरीका अनुसार राउतले आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो।
उपचारमा संलग्न डा. पीयुष दाहालका अनुसार राउतको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ। उनलाई वीर अस्पतालको बर्न आईसीयूमा राखेर उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण उनले यस्तो कदम चालेको देखिएको छ। घटनाका बेला उनकी श्रीमती र छोरा घरमा नभएको तथा अघिल्लो दिन छोरासँग केही छलफल भएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
यसैबीच, पछिल्लो तीन दिनमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने घटना तीन वटा भएका छन्। बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँगको विवादपछि आगो लगाएका थिए। उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।
यस्तै, शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते मण्डललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचार भइरहेको छ।
