काठमाडौ । सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलले आत्मदाह प्रयास गरेपछि उनको अवस्था अत्यन्त गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
मण्डलले शुक्रबार घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए। घटनापछि उनलाई सोही साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग गम्भीर रूपमा जलेको छ। उनी आईसीयूमा उपचाररत छन् र उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। डा. नकर्मीका अनुसार उनको आइतबार शल्यक्रिया पनि गरिँदैछ।
परिवारका अनुसार विवेक मण्डल महोत्तरीको गौशालास्थित एक सरकारी विद्यालयमा अस्थायी शिक्षकका रूपमा कार्यरत थिए। अंग्रेजी विषयमा स्नातकोत्तर गरेका उनले करिब छ महिनाअघि अस्थायी जागिर गुमाएपछि मानसिक तनाव झेलिरहेका थिए।
