काठमाडौं। सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा पार्किङ गरिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।
बा.०१–०३४ च ८४८० नम्बरको उक्त गाडी सञ्चारगृहको प्रवेशद्वार अवरुद्ध हुने गरी पार्किङ गरिएको अवस्थामा भेटिएपछि प्रहरीले क्रेनको सहायताले नियन्त्रणमा लिएको थियो।
उक्त गाडी हाल सानिमा बैंकको नाममा दर्ता रहेको छ। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले गाडी आफ्ना छोरा रवि जयसवालले प्रयोग गर्दै आएको स्वीकार गरेका छन्।
उनका अनुसार करिब एक महिनाअघि गाडी खरिद गरिएको भए पनि नामसारी प्रक्रिया पूरा नभएकाले दर्ता अझै बैंककै नाममा रहेको छ। गाडी कहिले रवि स्वयंले र कहिले चालकले चलाउने गरेको पनि उनले बताएका छन्।
रवि जयसवाल केही समयअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए। पार्टीले गत जेठ ८ गते उनलाई केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनयन गरेको थियो। उनका पिता कन्थमणि प्रसाद जयसवाल भने नेकपा (एमाले)बाट निर्वाचित गरुडा नगरपालिकाका मेयर हुन्।
सोमबार बिहान कान्तिपुर पब्लिकेसन्ससँगै हिमालय टेलिभिजन र अनलाइनखबरको गेटमा पनि यसैगरी शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको भेटिएको थियो। प्रहरीले ती सबै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार घटनाको उद्देश्य, सवारीसाधन त्यहाँ कसले र किन छाड्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
