• Monday 5th of October 2026

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते


  • धनकुटा खबर
  • .

रुपन्देही — रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्।

भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। उपचारका क्रममा भिम अस्पताल, भैरहवामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिद्धार्थनगर–८ निवासी ५० वर्षीया कृष्णकुमारी बेलबासे, सोही स्थानकी ३४ वर्षीया श्रद्धा जोशी, कपिलवस्तुको शिवराज नगरपालिका–२ निवासी १९ वर्षीय प्रकाश गाहा, पाल्पाको रिब्दीकोट गाउँपालिका–६ निवासी ३८ वर्षीय सुनिल थापा, सिद्धार्थनगर–३ दरखसवा निवासी २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका–७ वडवलिया निवासी ५५ वर्षीया शाहाबुन निसा तथा नवलपरासीको सुनवल नगरपालिका–६ निवासी ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन्।

घाइतेमध्ये कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल, भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल, मणिग्राम रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि फरार भएका माइक्रोबस चालक तिलोत्तमा नगरपालिका–६ गणेशपुर निवासी ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖