• Monday 5th of October 2026

बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, चालकसहित तीन घाइते


  • धनकुटा खबर
  • .

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

भीमदत्त राजमार्गअन्तर्गत धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप शुक्रबार बिहान करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल भिरमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी करिब ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका करिब २८ वर्षीय हनु लोथ्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिका निवासी ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ निवासी ३५ वर्षीया सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी घाइते भएका छन्।

घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जिप आफैँ अनियन्त्रित भई भिरबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖