• Monday 5th of October 2026

प्रेमिकालाई बोलाइदिन माग गर्दै एक युवक जब ८० मिटर अग्लो टावरमा चढे…


  • धनकुटा खबर
  • .

काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवास्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा एक युवक चढेपछि स्थानीय क्षेत्रमा तनाव र कौतुहलता छाएको छ।

टावरमा चढ्ने व्यक्ति सर्लाहीको गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन रहेको खुलेको छ। उनी टेलिकम टावरको सबैभन्दा माथिल्लो भागसम्म पुगेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन तथा स्थानीय बासिन्दा घटनास्थलमा पुगेका छन्। सुरक्षाकर्मीहरूले युवकलाई सुरक्षित रूपमा तल झार्न संवाद, सम्झाइबुझाइ तथा प्राविधिक उपायमार्फत उद्धारको प्रयास गरिरहेका छन्।

टावरको फेदमा सुरक्षाकर्मी र सर्वसाधारणको ठूलो भीड लागेको छ भने उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रारम्भिक जानकारीअनुसार हुसैन मलंगवास्थित सर्लाही क्याम्पसमा बीबीएस तहमा अध्ययनरत विद्यार्थी हुन्। उनी किन यति अग्लो र जोखिमपूर्ण टावरमा चढेका हुन् भन्ने कारण भने हालसम्म खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवकलाई सकुशल उद्धार गर्ने प्रयास जारी रहेको जनाएको छ। साथै, घटना किन र के कारणले भएको हो भन्ने विषयमा पनि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖