• Monday 5th of October 2026

प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टेलिकम टावर चढेका युवकको सकुशल उद्धार


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा
रौतहट, ३ साउन। सर्लाहीको सदरमुकाम मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले करिब साढे तीन घण्टाको प्रयासपछि सकुशल उद्धार गरेका छन्।

 

जिल्लाको गोडैता नगरपालिका–९ बकैनिया निवासी अन्दाजी २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ स्थित नेपाल टेलिकम कार्यालय परिसरभित्र रहेको टावरमा चढेका थिए। उनले आफूले प्रेम गर्ने युवतीलाई घटनास्थलमा बोलाइदिनुपर्ने र उनीसँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरबाट तल झर्न अस्वीकार गरेका थिए।

घटनाबारे बिहान करिब ५स्३० बजे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनको टोली घटनास्थलमा पुगेर उद्धार अभियान थालेको थियो। टावरको उचाइ धेरै भएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो भने घटनास्थलमा स्थानीय सर्वसाधारणको समेत भीड लागेको थियो।

प्रहरीका अनुसार युवक मानसिक तनावमा रहेको आशंका गर्दै बल प्रयोग नगरी संयमतापूर्वक सम्झाइ–बुझाइ गरिएको थियो। परिवारका सदस्य तथा सुरक्षाकर्मीले निरन्तर संवाद गरेपछि हुसेन बिहान करिब ८स्५० बजे सकुशल टावरबाट तल झर्न सहमत भएका थिए।

सर्लाहीका प्रहरी प्रमुख एसपी रविन्द्रनाथ पौडेलले युवकलाई सुरक्षित रूपमा उद्धार गरिएको पुष्टि गर्दै आवश्यक मनोचिकित्सकीय उपचार तथा स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्थामा पठाइएको जानकारी दिए।
प्रहरीले यस्ता घटनामा अफवाह नफैलाउन तथा मानसिक तनावमा रहेका व्यक्तिप्रति संवेदनशील व्यवहार गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
 

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖