• Monday 5th of October 2026

रगतले लत्पतिएको बोरा खोल्दा भेटियो यस्तो…


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटको गौर–पुरनेवा सडकखण्ड अन्तर्गत हनुमान मन्दिर नजिक सडकमा रगतले लत्पतिएको अवस्थामा फेला परेको एक बेवारिसे बोराले सोमबार केहीबेर स्थानीयवासीलाई त्रसित बनाएको छ।

सडकछेउमा रगत चुहिएको बोरा देखिएपछि त्यसमा मान्छेको शव वा कुनै गम्भीर आपराधिक घटना लुकाइएको हुन सक्ने आशंकामा स्थानीयको भीड लागेको थियो।

सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्रलाई नियन्त्रणमा लिँदै बोराको सावधानीपूर्वक परीक्षण गरेको थियो। प्रारम्भमा निकै शंकास्पद देखिएको घटनाको वास्तविकता भने केहीबेरमै खुलेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार बोराभित्र मानवीय शव वा अन्य आपराधिक सामग्री नभई बुंगुरको मासु रहेको पुष्टि भएको हो।

“रगतले लत्पतिएको बोरा देखिएपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। तर बोरा खोलेर हेर्दा त्यसमा बुंगुरको मासु मात्र रहेको पाइयो,” प्रवक्ता गौतमले बताए।

घटनाको वास्तविकता खुलेपछि स्थानीयवासीले राहत महसुस गरेका छन्। यद्यपि सार्वजनिक सडकमा यसरी रगत चुहिने बोरा बेवारिसे अवस्थामा फालिँदा अनावश्यक त्रास फैलिएको भन्दै स्थानीयले यस्ता गतिविधिमाथि निगरानी र आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

केही समयका लागि हत्या वा अन्य जघन्य अपराध भएको आशंकाले सनसनी फैलाएको यो घटनाको अन्त्य भने बोराभित्र रहेको बुंगुरको मासु भेटिएसँगै भएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖