काठमाडौँ । काठमाडौँको नयाँ बसपार्कस्थित एक गेस्टहाउसमा मृत अवस्थामा फेला परेकी २५ वर्षीया निशा सुनुवारको घटनामा प्रहरीले हत्या भएको आशङ्कासहित अनुसन्धान अघि बढाएको छ। घटनामा संलग्न रहेको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
कैलालीको धनगढी नगरपालिका–७ स्थायी घर भई हाल माछापोखरीमा बस्दै आएकी सुनुवार आइतबार गेस्टहाउसको कोठाभित्र पलङमुनि लुकाइएको अवस्थामा मृत फेला परेकी थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद देखिएकाले हत्या भएको आशङ्कामा अनुसन्धान केन्द्रित गरिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने उनले बताएका छन्।
प्रहरीका अनुसार साउन ३ गते कोठा सफा गर्ने क्रममा दुर्गन्ध आएपछि गेस्टहाउसका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले पलङमुनि सड्न थालेको अवस्थामा शव फेला पारेको थियो।
अनुसन्धानबाट गेस्टहाउसको कोठा एक युवकको नाममा बुक गरिएको र निशा असार २८ गतेदेखि उक्त गेस्टहाउसमा आउजाउ गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।
प्रारम्भिक परीक्षणमा शवमा बाहिरी रूपमा गम्भीर चोट नदेखिए पनि टाउकोको पछाडिपट्टि सामान्य चोट रहेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।
हाल घटनामा संलग्न रहेको आशङ्कामा चार पुरुष र एक महिलासहित पाँच जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान टोलीले सोधपुछ गरिरहेको छ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
