• Monday 5th of October 2026

अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?


  • धनकुटा खबर
  • .

चितवन । बर्डफ्लुको प्रभावका कारण उत्पादन घटेपछि अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादनमा कमी र बजारमा माग बढेपछि मूल्य वृद्धि भएको हो।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार आजदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य ४१५ रुपैयाँ निर्धारण गरिएको छ। सबै वर्गका अण्डामा प्रतिक्रेट ५० रुपैयाँले वृद्धि गरिएको सङ्घले जनाएको छ।

सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डाको माग बढ्न थालेसँगै मूल्य पनि बढ्न थालेको हो। उनका अनुसार दैनिक करिब ४५ लाख गोटा अण्डा उत्पादन हुँदै आएकामा बर्डफ्लुको प्रभावपछि उत्पादन घटेर करिब २८ लाख गोटामा सीमित भएको छ।

उनले जेठको अन्तिमतिर एक क्रेट अण्डाको मूल्य ५५० रुपैयाँ पुगे पनि पछि घटेर ४५० रुपैयाँमा झरेको बताए। हाल एक क्रेट अण्डाको उत्पादन लागत ५७३ रुपैयाँ ६० पैसा अर्थात् प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने उनले जानकारी दिए।

अध्यक्ष पोखरेलका अनुसार मूल्य बढे पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य पाउन सकेका छैनन्। उनले छिट्टै लागत मूल्य प्राप्त हुने आशा व्यक्त गर्दै बर्डफ्लुबाट प्रभावित कुखुरापालक किसानलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖