• Monday 5th of October 2026

तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित नयाँबजारमा सडक पेटीमा तरकारी बिक्री गर्दै आएका एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार जीवन अधिकारीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। प्रहरी वृत्त कीर्तिपुरको टोलीले तत्काल हस्तक्षेप गर्दै उनलाई उद्धार गरेको हो।

प्रहरीका अनुसार अधिकारी नयाँबजार क्षेत्रमा सडक पेटीमा तरकारी बिक्री गर्दै आएका थिए। नगरपालिकाले कार्यालय समयभरि सडकमा व्यापार गर्न रोक लगाई साँझ ६ बजेदेखि मात्र फुटपाथमा व्यापार गर्न दिने व्यवस्था गरेपछि जीविकोपार्जन गर्न कठिन भएको भन्दै उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरेको तथा पछि आफन्तको जिम्मा लगाइएको जनाएको छ। अधिकारीले नगर प्रहरीले सडक पेटी खाली गराउने क्रममा आफ्नो व्यापारमा ठूलो असर परेको गुनासो गरेका थिए।

यसअघि मंगलबार नै राष्ट्रपति भवन शीतलनिवास अगाडि पनि एक युवकले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। प्रहरीको तत्काल हस्तक्षेपपछि २७ वर्षीय विशाल तामाङलाई सुरक्षित उद्धार गरिएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖