दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार मनिराम चन्दको निर्माणाधीन घरको खाली पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानमा अक्सिजनको कमीका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।
प्रहरीका अनुसार मृतकहरू एक जना ठेकेदार र एक जना मजदुर रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरूको औपचारिक पहिचान भने अझै खुल्न बाँकी रहेको छ।
घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। शवको पहिचान तथा मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।
