• Monday 5th of October 2026

वेदिका केसी रिहा


  • धनकुटा खबर
  • .

काठमाडौं — विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ परेकी वेदिका केसी हाजिर जमानीमा रिहा भएकी छन्।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार सरकारी वकिलको कार्यालयको लिखित सहमतिमा केसीलाई शुक्रबार बिहान १० बजे पुनः उपस्थित हुने सर्तमा रिहा गरिएको हो। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले उनीमाथिको अनुसन्धान भने जारी रहेको जानकारी दिएका छन्।

आफूलाई सामाजिक अभियन्ताका रूपमा परिचित गराउँदै आएकी केसीलाई बिहीबार काठमाडौंको जोरपाटीबाट साइबर ब्युरोले पक्राउ गरेको थियो। पक्राउपछि जिल्ला अदालत काठमाडौंबाट एक दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।

पछिल्लो समय केसीले सामाजिक सञ्जाल र विभिन्न टेलिभिजन कार्यक्रममार्फत धर्मभित्र रहेका विकृति, विसंगति तथा गलत प्रवृत्तिविरुद्ध आफ्ना धारणा सार्वजनिक गर्दै आएकी थिइन्। सोही क्रममा दिएका केही अभिव्यक्ति र टिप्पणीले आफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदै एक चर्चित कथावाचिकाले उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउने घोषणा गरेकी थिइन्।

व्यवसायिक पृष्ठभूमिकी केसी जीबीएस एजुकेसनल कन्सल्टेन्सीकी सञ्चालक पनि हुन्। उनले धर्म, संस्कार तथा तन्त्रविद्याका नाममा हुने शोषण र भ्रमविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖