• Monday 5th of October 2026

शिक्षामन्त्रीले आईजीपीसँग छलफल गरेलगत्तै एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको सूचना प्राप्त भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले शनिबार राति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग तत्काल छलफल गरी आवश्यक अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए। त्यसलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आइतबार बिहान आरोपित व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

घटनापछि मन्त्री पोखरेलले मन्त्रालयमा सम्बन्धित अधिकारी, प्रहरीका उच्च पदाधिकारी तथा त्रिविका पदाधिकारीसँग छलफल गरी थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाएका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका व्यक्तिहरूले एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको प्रहरीले जनाएको छ।

साउन ८ गते सञ्चालन भएको स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा देखिएपछि फेसबुक पेज ‘TU Students’ ले ह्वाट्सएप ग्रुपका स्क्रिनसट सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो।

घटनापछि त्रिविको व्यवस्थापन संकाय डिन कार्यालयले साइबर ब्युरोसँग आवश्यक अनुसन्धानका लागि पत्राचार गरेको थियो।

यसैबीच, त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। परीक्षा सञ्चालक समितिको निर्णयअनुसार प्रा.डा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्।

समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖