नयाँ दिल्ली । भारतको बिहार राज्यको समस्तीपुर जिल्लामा दोस्रो विवाह गरिसकेकी एक महिला आफ्नै घरमा पूर्वपतिसँग रात बिताएको अवस्थामा भेटिएपछि गाउँलेले अनौठो ढंगले विवाद मिलाएको घटना सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार समस्तीपुरको कर्पुरीग्राम थाना क्षेत्रस्थित सिंघिया खुर्द गाउँमा बस्दै आएकी अनुराधा कुमारीले करिब १० वर्षअघि खगडिया जिल्लाका पन्नालाल यादवसँग प्रेम विवाह गरेकी थिइन्। तर, करिब छ महिनाअघि उनले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरी सिंघिया खुर्दकै मनोहर नामका पुरुषसँग दोस्रो प्रेम विवाह गरेकी थिइन्। मनोहरका दुई सन्तान रहेका छन्।
दोस्रो विवाहपछि अनुराधाको गतिविधिप्रति शंका लागेपछि मनोहरले निगरानी गर्न थालेका थिए। यसक्रममा गाउँलेहरूले अनुराधालाई पटक–पटक पूर्वपति पन्नालालसँग भेटघाट गरेको देखेको बताइएको छ।
शनिबार राति अनुराधाले पूर्वपति पन्नालाललाई आफ्नै घरमा बोलाएको र उनीहरू सँगै रहेको अवस्थामा गाउँलेहरूले फेला पारेपछि घटना सार्वजनिक भएको थियो।
त्यसपछि गाउँका अगुवाहरूको उपस्थितिमा छलफल गरी अनुराधा र उनका पूर्वपति पन्नालालको पुनः विवाह गराइएको बताइएको छ। उक्त निर्णयका क्रममा दोस्रो पति मनोहर र उनका परिवारका सदस्यहरू पनि उपस्थित रहेको र कसैले निर्णयप्रति आपत्ति नजनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
घटनापछि गाउँलेहरूले अनुराधा र पन्नालाललाई सँगै बिदाइ गरेको बताइएको छ।
