सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा चालक लेकबेशी नगरपालिका–४ निवासी २३ वर्षीय दिपेश पुनसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये लेकबेशी–६ निवासी २२ वर्षीया सुष्मा कार्कीको शरीरमा गम्भीर चोट लागेको छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये अधिकांशको माया नर्सिङ होम, सुर्खेतमा उपचार भइरहेको छ भने केहीको दशरथपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाग्रस्त जिपलाई नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
