काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित चुनीदेवी बालुवा प्रशोधन केन्द्रमा साउन ९ गते मृत फेला परेकी ४५ वर्षीया रश्मि रिजालको घटनामा प्रहरीले आत्मदाह भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
प्रहरीका अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका स्थायी घर भई मनमैजुमा बस्दै आएकी रिजाल साउन ८ गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। भोलिपल्ट उनले प्रयोग गर्ने बीएई ०४१० नम्बरको विद्युतीय कारभित्र उनको शव फेला परेको थियो। शव कारको पछाडिको सिटमा रहेको थियो भने साँचो चालक सिटमै भेटिएको प्रहरीले जनाएको छ।
रिजाल काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्। उनी सम्पर्कविहीन भएकै दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना कर्मचारी उनको मनमैजुस्थित घरमा पुगेको विषयलाई पनि प्रहरीले अनुसन्धानको दायरामा राखेको छ।
परिवारले ती कर्मचारी घरमा आएर रश्मिबारे सोधपुछ गरेको उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धानको मागसहित प्रहरीमा जाहेरी दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जाहेरीमा उल्लेख भएका सबै विषयमा सोधपुछ र अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार रिजाल घरबाट सिधै घटनास्थल पुगेकी थिइन्। उनी आफूसँग पेट्रोल बोकेर गएको र कारबाहिर शरीरमा पेट्रोल छर्केपछि गाडीभित्र प्रवेश गरी आगो लगाएको देखिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा गाडीभित्र जलेको अवस्थामा तीनवटा लाइटर बरामद भएको छ। साथै, घटनास्थलको सीसीटीभी फुटेज विश्लेषण गर्दा घटनाका बेला अन्य कुनै व्यक्तिको उपस्थिति नदेखिएको र गाडीको ढोका भित्रबाट लक गरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
