• Monday 5th of October 2026

अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादी रौतहट प्रहरीको फन्दामा


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा.रौतहट, १३ साउन। रौतहट प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहँदै आएका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाइबाट परिचालित टोलीले मंगलबार विभिन्न स्थानमा लुकिछिपी बसेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू जिल्ला अदालत रौतहटबाट विभिन्न मुद्दामा दोषी ठहर भई सजाय तोकिए पनि फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ पर्नेमा चोरी मुद्दाका गौर नगरपालिका–४ निवासी कल्लु भन्ने अमित कुमार सहनी रहेका छन्। उनीविरुद्ध २ वर्ष ११ महिना ३ दिन कैद र रु. २० हजार जरिवाना सजाय बाँकी रहेको थियो।

यस्तै, लेनदेन बिगो मुद्दामा दोषी ठहर भएका देवाही गोनाही नगरपालिकाका मोजेलाल राजत कुर्मीलाई २ वर्ष कैद सजाय कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कुटपिट तथा लुटपिट मुद्दामा चन्द्रपुर नगरपालिका–५ की नाजदा खातुन तथा चन्द्रपुर–४ का शेख समिर र शेख मोतिजर पक्राउ परेका छन्। उनीहरूलाई जनही रु. १० हजार जरिवाना तोकिएको थियो।

त्यसैगरी चोरी मुद्दाका देवाही गोनाही–४ का विक्रम कुमार महतो (१३ दिन कैद), ज्यान सम्बन्धी कसुर मुद्दाका परोहा–४ का तिलाई राय यादव (२३ दिन कैद र रु. ३ हजार जरिवाना), चोरी मुद्दाकै गढीमाई–५ का करण कुमार यादव तथा माधव नारायण–४ का राम कुमार यादव (जनही रु. २० हजार जरिवाना) समेत पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका सबै प्रतिवादीलाई मंगलबार नै जिल्ला अदालत रौतहटमा उपस्थित गराई कैद भुक्तान तथा जरिवाना असुलउपरको प्रक्रिया अघि बढाइएको छ। फरार प्रतिवादी खोजी तथा पक्राउ अभियानलाई थप प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖