कैलाली, साउन १४ — कैलालीको धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको विवाह भएको करिब छ महिनामै शंकास्पद मृत्यु भएपछि प्रहरीले उनका श्रीमान्सहित परिवारका पाँच जनालाई पक्राउ गरेको छ।
माइती पक्षले कुटपिटपछि हत्या गरिएको आरोप लगाउँदै पाँच जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले श्रीमान्, हजुरबुबा, हजुरआमा, बुबा र बहिनीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिएका छन्।
प्रहरीका अनुसार साउन ११ गते पूजा आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। उनलाई श्रीमान्ले उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
माइती पक्षले विवाह भएको केही महिनामै छोरीको हत्या भएको दाबी गर्दै निष्पक्ष अनुसन्धान र न्यायको माग गरेको छ।
घटनाको शव परीक्षण सेती प्रादेशिक अस्पतालमा फरेन्सिक विशेषज्ञ चिकित्सक उपलब्ध नभएकाले माइती पक्षको आग्रहमा नेपालगञ्जमा गरिने भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
