काठमाडौँ । नर्सिङ क्षेत्रका विभिन्न माग राख्दै अनसनमा बसेकी ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारका लागि वीर अस्पताल लगिएको छ।
बिहीबारदेखि नेपाल नर्सिङ परिषद्को कार्यालयमा आमरण अनसन सुरु गरेकी रानाभाटको रक्तचाप घट्दै गएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो। नर्सिङ अभियन्ता कल्पना रिजालका अनुसार उनको स्वास्थ्य कमजोर बन्दै गएपछि स्लाइन चढाइएको छ भने रिङ्गटा लाग्ने समस्या पनि देखिएको छ।
यसबीच बिहीबार साँझ रानाभाट र सरकारी वार्ता टोलीबीच छलफल भएको थियो। तर, सरकारी वार्ता समिति स्वार्थप्रेरित रहेको आरोप लगाउँदै रानाभाट पक्षले सहमतिको सुनिश्चितता नदेखिएको भन्दै वार्ता निष्कर्षविहीन भएको जनाएको छ।
सरकारका तर्फबाट स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी नर्सिङ प्रशासक अमृता पहाडी, वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख रोशनी लक्ष्मी तुइतुई र नुजन शर्मा वार्तामा सहभागी थिए। रानाभाट पक्षबाट लक्ष्मी तामाङ, कविता सिटौला, कल्पना रिजाल र जिता बराल सहभागी भएका थिए।
रानाभाटले मन्त्रालयले अनसन तोडाउन ढिलोगरी वार्तामा बोलाएको आरोप लगाउँदै कुनै पनि सहमतिको प्रभावकारी कार्यान्वयनको स्पष्ट सुनिश्चितता आवश्यक रहेको बताएकी छन्।
उनले नर्सिङ तथा मिडवाइफ्री क्षेत्रमा न्यून पारिश्रमिक, असुरक्षित रोजगारी, विभेदपूर्ण कानुनी व्यवस्था, अपर्याप्त दरबन्दी, स्पष्ट मानव संसाधन नीतिको अभाव, सीमित नेतृत्व अवसर र व्यावसायिक सम्मानको कमी जस्ता समस्या विद्यमान रहेको उल्लेख गरेकी छन्। यिनै कारण दक्ष नर्सिङ तथा मिडवाइफ्री जनशक्ति विदेश पलायन हुने क्रम बढ्दै गएको उनको भनाइ छ।
रानाभाटले सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक अस्पताल, मेडिकल कलेज तथा शिक्षण संस्थामा कार्यरत सम्पूर्ण नर्सिङ तथा मिडवाइफ्री जनशक्तिलाई तह, योग्यता, दक्षता र जिम्मेवारीअनुसार नेपाल सरकारको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक, सेवा–सुविधा, भत्ता तथा सम्मानजनक सेवा सर्त कानुनी रूपमा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।
