• Monday 5th of October 2026

रिहापछि गृहमन्त्रीमाथि दुर्गा प्रसाईंको गम्भीर आरोप


  • धनकुटा खबर
  • .

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले रिहा भएपछि गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।

सोमबार जिल्ला अदालत भक्तपुरको आदेशपछि रिहा भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले गृहमन्त्री गुरुङ ‘ब्राग’ नामक संस्थासँग आबद्ध रहेको दाबी गरे। प्रसाईंले उक्त संस्थाले रोहिंग्या शरणार्थीलाई सहयोग गर्ने र नेपाल तथा भारतमा भित्र्याउने काम गर्ने आरोपसमेत लगाए।

उनले आफूहरूले यससम्बन्धी आरोप र प्रमाण सार्वजनिक गरेको दाबी गर्दै गृहमन्त्रीलाई आरोपको खण्डन गर्न चुनौती दिए।

प्रसाईंले सार्वजनिक सम्पत्तिमा भएको आगजनीका घटनाको प्रसंग जोड्दै वर्तमान नेतृत्वप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले सिंहदरबार, सर्वोच्च अदालत तथा विश्व सम्पदा क्षेत्रमा भएको आगजनीको उल्लेख गर्दै त्यसप्रति सरकारको भूमिकामाथि प्रश्न उठाए।

यसअघि प्रहरीले आइतबार राति भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको थियो। तर जिल्ला अदालत भक्तपुरले सोमबार म्याद थप गर्न अस्वीकार गरेपछि उनी रिहा भएका हुन्।

प्रसाईंले लगाएका आरोपहरूको स्वतन्त्र पुष्टि भएको छैन। गृहमन्त्री सुधन गुरुङ वा गृह मन्त्रालयले यी आरोपबारे तत्काल कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖