सिन्धुली । सुनकोशी नदीमा खसेको कारमा सवार तेस्रो बेपत्ता व्यक्तिको पहिचान खुलेको छ।
सोमबार बिहान करिब ११ः४५ बजे फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बेपत्ता हुने तेस्रो व्यक्ति तिनपाटन गाउँपालिका–९ डाँडाखर्क निवासी १७ वर्षीय सुजन बलमपाकी मगर हुन्।
यसअघि कार चालक जुगल गाउँपालिका–७ निवासी ३९ वर्षीय दिलकुमार लामा र गोलान्जोर गाउँपालिका–१ निवासी २८ वर्षीय गणेश थापाको पहिचान खुलिसकेको थियो। लामा पूर्ववडाध्यक्ष, नेकपा (एमाले) का नेता तथा निर्माण व्यवसायी हुन्।
प्रहरीका अनुसार हेमबहादुर तामाङले चलाएको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो।
