काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नेतृत्वबारे छलफल गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित तीन जना नेतालाई काठमाडौं बोलाएका छन्।
स्रोतका अनुसार प्रदेश इन्चार्ज तथा पार्टी सचिव शेरधन राईमार्फत मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न गरिएको प्रयास सफल नभएपछि अध्यक्ष ओलीले कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र इन्चार्ज शेरधन राईलाई काठमाडौं बोलाएका हुन्।
अध्यक्ष ओली निकट स्रोतका अनुसार तीनै नेता मंगलबार काठमाडौं आएर अध्यक्ष ओलीसँग गुण्डुस्थित निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त छलफलपछि कोशी प्रदेशको मुख्यमन्त्रीबारे थप निर्णय हुन सक्ने बताइएको छ।
यसअघि सचिव राईले विराटनगरमा बैठक राखी नेतृत्व परिवर्तनबारे छलफल गरेका थिए। तर मुख्यमन्त्री कार्कीले मौखिक आग्रहका आधारमा राजीनामा नदिने अडान राखेका थिए।
स्रोतका अनुसार अध्यक्ष ओलीले कार्कीको स्थानमा ताप्लेजुङका प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका छन्। त्यसका लागि कार्कीलाई राजीनामा दिन आग्रह गरिएको बताइएको छ।
यद्यपि मुख्यमन्त्री कार्कीले आफू पदबाट हट्नुपर्ने भए पार्टी सचिवालयबाट संस्थागत रूपमा लिखित निर्णय हुनुपर्ने अडान राखेका छन्। मौखिक निर्देशनका आधारमा राजीनामा नदिने उनको भनाइ रहेको स्रोतले जनाएको छ।
यसअघि अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने समझदारी बनेको चर्चा भए पनि पछिल्ला घटनाक्रमसँगै एमालेभित्र नेतृत्व परिवर्तनको विषय पुनः चर्चामा आएको छ।
मुख्यमन्त्री कार्की नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त भएका हुन्।
