काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित अन्य आरोहीहरूको शव संकलन कार्य अझै सम्पन्न हुन सकेको छैन। प्रतिकूल मौसम, जोखिमपूर्ण भौगोलिक अवस्था र पाकिस्तानको जटिल उद्धार प्रक्रियाका कारण उद्धार अभियान प्रभावित भएको हो।
८,०४७ मिटर अग्लो ब्रोड पिकको क्याम्प–३ भन्दा केही तल गएको हिमपहिरोमा निम्सदाइसहित ६ नेपाली आरोही र अन्य विदेशी आरोही गरी १० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। तर शवहरू अझै आधार शिविरसम्म ल्याउन सकिएको छैन।
सगरमाथा आरोही तथा माउन्टेन गाइड पेम्बा शेर्पाका अनुसार काराकोरम क्षेत्रमा लगातार हिमपात, तीव्र हावा र न्यून दृश्यताका कारण हेलिकप्टरमार्फत प्रयोग गरिने ‘लङलाइन’ प्रविधि सञ्चालन गर्न कठिन भइरहेको छ। स्कार्दुस्थित पाकिस्तानी सेनाका हेलिकप्टरहरू मौसम प्रतिकूल बनेपछि पटक–पटक उडान रद्द गर्न बाध्य भएका छन्।
उनका अनुसार पाकिस्तानमा नेपालजस्तो निजी उद्धार हेलिकप्टरको व्यवस्था नभएकाले सरकारी वा सेनाको हेलिकप्टरमै भर पर्नुपर्ने अवस्था छ। साथै प्रशासनिक अनुमति प्रक्रिया लामो हुँदा अनुकूल मौसमको छोटो अवसर पनि प्रभावकारी रूपमा उपयोग गर्न कठिन भइरहेको छ।
उद्धार अभियानको नेतृत्व गरिरहेका आईएफएमजीए प्रमाणित गाइड मिङ्मा ग्याल्जे शेर्पा (मिङ्मा जी) का अनुसार अधिकांश शवहरू करिब ५,००० मिटर उचाइको अत्यन्त जोखिमपूर्ण भिरालो क्षेत्रमा अड्किएका छन्। त्यही क्षेत्रमा निर्मल पुर्जा, चिनियाँ आरोही वाङ जोङ र नेपाली आरोही निमा शेर्पाको शव रहेको बताइएको छ।
यसअघि उद्धार टोलीले ५,७०० मिटर उचाइबाट चार शव तल ल्याएको थियो। तीमध्ये किली पेम्बा शेर्पा र ग्यालु शेर्पाको शव सुरक्षित स्थानमा राखिएको भए पनि अन्य शव हिमपहिरोको जोखिमका कारण तल झार्न सकिएको छैन।
धेरै अन्तर्राष्ट्रिय उद्धार टोली फर्किसके पनि मिङ्मा जीको नेतृत्वमा रहेको नेपाली तथा पाकिस्तानी आरोहीहरूको टोली अझै घटनास्थलमै खटिएको छ। उनले हेलिकप्टर सम्भव नभए पैदल मार्गबाट समेत शव संकलन गर्ने प्रयास जारी रहने बताएका छन्।
अल्पाइन क्लब अफ पाकिस्तानले पनि नेपाली शेर्पाहरूको साहस र समर्पणको प्रशंसा गर्दै जारी उद्धार अभियानलाई पर्वतारोहण इतिहासकै मानवीय उदाहरणमध्ये एक भएको जनाएको छ।
पछिल्लो विवरणअनुसार दुई शव ब्रोड पिकको आधार शिविरसम्म ल्याइएको छ भने अन्य तीन शव अझै जोखिमपूर्ण भिरालो क्षेत्रमा रहेका छन्। एक शव गहिरो खोँचमा अड्किएको छ, जहाँ पुग्न हाल सम्भव देखिएको छैन। साथै पाकिस्तानी आरोही सोहैल सखी र अमेरिकी आरोही म्यालोरी गाइस अझै बेपत्ता रहेकाले उनीहरूको खोजी पनि मौसमका कारण प्रभावित बनेको छ।
