• Monday 5th of October 2026

४ जनाको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने जनाएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको कमजोरीका कारण सुनसरीमा भएको साम्प्रदायिक तनाव नियन्त्रणमा आउन नसकेको र त्यसका कारण चार जना युवाले ज्यान गुमाउनुपरेको दाबी गरे।

उनले समयमै शान्ति–सुरक्षा कायम गर्न सकेको भए यस्तो दुःखद अवस्था सिर्जना नहुने उल्लेख गर्दै घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।

सांसद बरालले सरकारले गठन गरेको हालको छानबिन समितिप्रति असन्तुष्टि व्यक्त गर्दै निष्पक्ष र अधिकारसम्पन्न आयोग गठन गर्न माग गरे। उनका अनुसार पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गरी घटनाको वास्तविक कारण पत्ता लगाउन र दीर्घकालीन समाधान खोजिनुपर्छ।

विराटनगरस्थित प्रतिष्ठित औद्योगिक घराना देवेनरा ग्रुपमाथि गरिएको छापाको शैलीप्रति पनि उनले आपत्ति जनाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

यसैगरी, उनले देशमा महँगी बढ्दै गएको, खाना पकाउने ग्यासका लागि नागरिकले लामो समय लाइनमा बस्नुपर्ने अवस्था आएको तथा सरकारले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसकेको भन्दै सरकारको कडा आलोचना गरे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖