काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ तराई–मधेसका जिल्लामा विकसित सुरक्षा अवस्था र पछिल्ला घटनाबारे जानकारी गराउन मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबार पुगेका छन्।
गृहमन्त्री गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर तराई–मधेस भ्रमणका क्रममा भएका गतिविधि, सुरक्षा अवस्थाको मूल्याङ्कन तथा पीडित परिवारसँग भएका सहमतिबारे जानकारी गराउने कार्यक्रम रहेको जनाइएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा दुई समुदायबीच भएको तनावपछि अवस्था मधेस प्रदेशका विभिन्न जिल्लासम्म फैलिएको थियो। त्यसपछि गृहमन्त्री गुरुङ प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग भेटघाट, सरोकारवाला निकायसँग छलफल तथा शान्ति स्थापना र समस्या समाधानका लागि पहल गरेका थिए।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार गृहमन्त्रीले प्रभावित क्षेत्रको समग्र अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुका साथै पीडित परिवारसँग भएका सहमति कार्यान्वयनको प्रगतिबारे पनि जानकारी गराउनेछन्।
