धनगढी । कैलालीमा फोर्स गाडी र बस आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। घाइतेमध्ये एक गर्भवती महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय सुगरखालका अनुसार मोहन्याल गाउँपालिका–७ कुञ्जेनेरीस्थित भित्री सडकखण्डमा धनगढीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०४९२ नम्बरको फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३८६८ नम्बरको बस एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा फोर्स गाडीमा सवार सात जना घाइते भएका छन्। घाइतेमध्ये अछामको बिनायक नगरपालिका–८ निवासी २१ वर्षीया गर्भवती निर्मला संज्यालको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
घाइतेहरूलाई उपचारका लागि सुगरखालतर्फ पठाइएको छ। अन्य घाइतेमा लम्कीचुहा नगरपालिका–१ निवासी ३६ वर्षीया लक्ष्मी शाही, वडा नं. ५ की ५३ वर्षीया कृष्णादेवी टमटा, ५५ वर्षीया बासुदेवी टमटा, कालीकोटको नरहरी गाउँपालिकाका प्रर्वे बिष्ट, आठबीस नगरपालिकाकी बिना शाही र उनका एक वर्षीय छोरा लविश चन्द रहेका छन्।
दुर्घटनामा दुवै सवारीसाधनको अगाडिको भागमा क्षति पुगेको छ। हाल दुवै सवारीसाधन घटनास्थलमै रहेका छन्। प्रहरीले फोर्स गाडीका चालकसँग आवश्यक कागजात रहेको तर बसका चालकसँग कागजात नरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
