काठमाडौं । काठमाडौं जिल्लाभित्रका होटल तथा रेस्टुरेन्टमा अब जथाभावी हुक्का तथा चुरोट पिउन नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कानुनअनुसार धुम्रपान क्षेत्र व्यवस्थापन गर्न सम्पूर्ण होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार होटल तथा रेस्टुरेन्टमा अव्यवस्थित रूपमा धुम्रपान हुँदा धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परेको र कानुनी व्यवस्था पालना नभएको भन्ने गुनासो बढेपछि यस्तो निर्णय गरिएको हो।
सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ अनुसार अब होटल तथा रेस्टुरेन्टहरूले धुम्रपान गर्न मिल्ने र नमिल्ने स्थान स्पष्ट रूपमा छुट्याउनुपर्नेछ। धुम्रपानका लागि तोकिएको स्थान चारैतिरबाट बन्द भएको हुनुपर्ने र त्यसबाट निस्कने धुवाँ वा असर अन्य ग्राहकसम्म नपुग्ने व्यवस्था मिलाउनुपर्ने प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय तथा तोकिएका अनुगमन निकायले जुनसुकै बेला होटल तथा रेस्टुरेन्टहरूको अनुगमन गर्नेछन्। अनुगमनका क्रममा कानुन उल्लङ्घन गरेको पाइए सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ को दफा १७ अनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामार्फत सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई कानुनी व्यवस्था पालना गर्दै व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।
