काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अनिवार्य अवकाशमा गएका छन्। महानगरपालिकाले बुधबार आयोजित एक कार्यक्रममा उनलाई औपचारिक रूपमा बिदाइ गरेको हो।
गुरागाईंले २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेका थिए। उमेर हदका कारण बुधबारदेखि उनी निजामती सेवाबाट अवकाशमा गएका हुन्।
बिदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्य, विभागीय प्रमुख तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यवाहक प्रमुख डंगोलले कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँग समन्वय गर्दै गुरागाईंले निर्वाह गरेको प्रशासनिक नेतृत्व महानगरका लागि स्मरणीय रहने बताइन्।
काठमाडौं महानगरपालिकाको इतिहासमा प्रमुख प्रशासकीय अधिकृत पदबाट सेवा निवृत्त हुने गुरागाईं पहिलो अधिकारी बनेका छन्। सुशासन समितिका संयोजक ख्यामराज तिवारीले महानगरको संस्थागत विकासमा गुरागाईंको अनुभव आगामी दिनमा पनि उपयोगी हुने विश्वास व्यक्त गरे।
बिदाइ कार्यक्रममा गुरागाईंले आफ्नो साढे ३२ वर्षे निजामती सेवामध्ये काठमाडौं महानगरपालिकामा बिताएको अवधि सबैभन्दा स्मरणीय रहेको बताए। उनले प्रशासनिक सेवामा उतारचढाव स्वाभाविक हुने उल्लेख गर्दै आफूले सबै परिस्थितिलाई सहज रूपमा लिएको धारणा राखे।
२०५१ साल पुस १९ गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका गुरागाईंले करिब २१ वर्ष स्थानीय तह, करिब दुई वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत विभिन्न जिम्मेवारीमा काम गरेका थिए। काठमाडौं महानगरमा आउनुअघि उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको ‘समृद्धि आयोजना’का प्रमुख थिए।
गुरागाईंको कार्यकाल विशेषगरी ‘काठमाडौं टावर’ परियोजनालाई लिएर तत्कालीन काठमाडौं महानगर प्रमुख बालेन शाहसँग भएको विवादका कारण चर्चामा रहेको थियो। परियोजनासम्बन्धी फाइल प्रक्रिया र प्रशासनिक निर्णयलाई लिएर महानगर नेतृत्व र प्रमुख प्रशासकीय अधिकृतबीच सार्वजनिक रूपमा मतभेद देखिएको थियो। उक्त विवादले जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीचको सम्बन्धबारे व्यापक बहससमेत सिर्जना गरेको थियो।
