काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका पराजुली दम्पतीको खोजी दोस्रो दिन पनि जारी रहेको छ।
बेपत्ता दम्पतीको खोजीका लागि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका प्रमुखहरू घटनास्थलमै खटिएका छन्।
बुधबार साँझ करिब ६ः३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीले सुनकोशी नदीमा हाम फालेपछि उनीहरू बेपत्ता भएका थिए।
घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी अभियान सञ्चालन गरिएको थियो। तर दम्पती फेला नपरेपछि थप सुरक्षा टोली परिचालन गरी खोजी कार्यलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
हाल सशस्त्र प्रहरीले र्याफ्ट बोट र ड्रोन क्यामेराको प्रयोग गरी सुनकोशी नदी क्षेत्रमा खोजी जारी राखेको छ। घटनाको कारणबारे पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
