• Monday 5th of October 2026

पूर्वराजा ज्ञानेन्द्रको नाममा गतिविधि गर्ने सङ्गठनमा ‘कु’, अध्यक्षलाई हटाइएको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राजसंस्थाको समर्थनमा सडक गतिविधि गर्दै आएको सङ्गठन ‘शाही युवा शक्ति, नेपाल’ भित्र विवाद देखिएको छ।

सङ्गठनभित्र आन्तरिक कलह बढ्दै जाँदा एक पक्षले संस्थापक अध्यक्ष पशुपति खड्कालाई पदच्युत गरेको घोषणा गरेको छ ।

सङ्गठनका महासचिव तथा प्रवक्ता रामचन्द्र खड्काको तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा अध्यक्ष पशुपति खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णय गरिएको उल्लेख छ।

उनीमाथि वि.सं. २०६८ साल यताको आय–व्यय विवरण सार्वजनिक गर्न नसकेको गम्भीर आरोप लगाइएको छ। विज्ञप्तिमा गाडी खरिद, कोटिहोम सञ्चालन र विभिन्न अनुदान सहयोगमा प्राप्त रकमको पारदर्शिता देखाउन नसकेको उल्लेख छ।

खड्कालाई स्पष्टीकरणका लागि १५ दिनको समय दिँदा पनि कुनै जवाफ नआएपछि बहुमतका आधारमा उनलाई निलम्बन गरी रिक्त स्थानमा मणिराज थपलियालाई निर्विरोध अध्यक्ष चयन गरिएको दाबी गरिएको छ। नयाँ नेतृत्वले अबदेखि पशुपति खड्काको नामबाट हुने कुनै पनि आर्थिक कारोबार नगर्न समेत सूचित गरेको छ।

यता, पशुपति खड्का पक्षले भने आफू नै आधिकारिक रहेको दाबी गर्दै अर्को पक्षलाई ‘अराजक झुण्ड’ भनेको छ। खड्का पक्षका केन्द्रीय अभियन्ता रेशम चन्द्र मल्लद्वारा जारी विज्ञप्तिमा सङ्गठनको स्थापना कालदेखि नै पशुपति खड्का नै अध्यक्ष रहेको र उनलाई बदनाम गराउन नियोजित रूपमा नकारात्मक भ्रम फैलाइएको उल्लेख छ।

Nabil bank
खड्का पक्षले विपक्षी समूहले नक्कली छाप र लेटरप्याडको दुरुपयोग गरेको भन्दै उनीहरूलाई कानुनी दायरामा ल्याउन प्रशासन समक्ष माग गरेको छ। साथै, रातोपाटीसँग कुरा गर्दै खड्काले आफूमाथि लगाइएका आर्थिक अनियमितताका आरोपहरू निराधार रहेको दाबी गरे ।

राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर हिँड्ने सङ्गठनभित्रै अध्यक्षमाथि नै ‘कु’ हुन पुगेको छ। एउटै मितिमा दुई वटा समानान्तर विज्ञप्ति सार्वजनिक भएपछि सङ्गठन स्पष्ट रूपमा दुई फ्याक भएको छ।

खड्काले राजतन्त्र पुनर्स्थापनाको मागसहित निरन्तर गतिविधि गर्दै आएका थिए । सोही कारण उनी पटक पटक पक्राउ समेत पर्ने गरेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖