• Monday 5th of October 2026

२५ जनासँग विवाह गर्ने पुरुष बल्ल परे कानुनी फन्दामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । विभिन्न पहिचान प्रयोग गर्दै २५ जनासँग विवाह गरी ठगी गरेको आरोपमा भारतको उत्तर प्रदेशका एक पुरुष कानुनी फन्दामा परेका छन्।

उत्तर प्रदेशको सीतापुरस्थित चन्द्रावल गाउँका अनुज त्रिवेदीले आफ्नो वास्तविक पहिचान लुकाउँदै विभिन्न नाम प्रयोग गरेर २५ महिलासँग विवाह गरेको घटना सार्वजनिक भएको हो। उनी हाल मुम्बईको यरवदा जेलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अनुजविरुद्ध हालसम्म चार महिलाले प्रहरीमा उजुरी दिएका छन्। उनका सम्धी तथा भारतीय जनता पार्टीका विधायक ज्ञान तिवारीले पनि उनीविरुद्ध उजुरी दिएका छन्। तिवारीकी छोरीसँग अनुजका छोराको विवाह भएको थियो।

अनुजसँग विवाह गरेका सविता भंडारकर, संगीता ठाकरे, अर्चना गुप्ता र प्रतिभा नाम गरेका महिलाले आफूहरूलाई धोका दिएको आरोप लगाएका छन्। उनीहरूले अनुजले अजय अग्रवाल, सन्तोष सिंह, अजय गुप्तालगायतका नाम प्रयोग गरी आफ्नो वास्तविक पहिचान लुकाएर विवाह गरेको दाबी गरेका छन्।

अनुजविरुद्ध पहिलो पटक सन् २०२२ मा ७५ वर्षीया एक महिलाले उजुरी दिएकी थिइन्। उनकी ४५ वर्षीया छोरीका लागि जीवनसाथी खोज्ने क्रममा मेट्रिमोनियल विज्ञापनमार्फत अजय अग्रवाल नाम गरेका व्यक्ति सम्पर्कमा आएका थिए। त्यसपछि सन् २०१९ मा उनकी छोरीको अजयसँग विवाह भएको थियो।

विवाहपछि विश्वास जितेका अनुजले मीरा रोडस्थित फ्ल्याट बिक्री गर्न लगाएर त्यसबाट प्राप्त रकमले अन्यत्र जग्गा किन्ने र दुईतले घर बनाउने आश्वासन दिएको ती महिलाको आरोप छ। उनले आफूले अनुजलाई ८२ लाख रुपैयाँ नगदसमेत दिएको दाबी गरेकी छन्।

एक आफन्तको विवाहमा सहभागी हुन भन्दै दिल्ली लगेपछि अनुजले ती महिलालाई मुम्बई जाने रेलमा चढाएको र त्यसपछि ३३ तोला सुनका गहना लिएर फरार भएको उजुरीमा उल्लेख छ। त्यसपछि उनले आफ्नो मोबाइल फोनसमेत बन्द गरेको बताइएको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार अनुजले मेट्रिमोनियल वेबसाइटमार्फत आर्थिक रूपमा सम्पन्न तर विभिन्न कारणले कमजोर अवस्थामा रहेका महिलालाई आफ्नो निशाना बनाउने गरेका थिए। विशेषगरी सम्बन्धविच्छेद भएका, शारीरिक वा मानसिक रूपमा असक्षम तथा एक्ला महिलालाई आफू भरपर्दो जीवनसाथी भएको विश्वास दिलाएर विवाह गर्ने र त्यसपछि उनीहरूको सम्पत्ति हत्याएर फरार हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।

प्रहरीले अनुजका छोरालाई पनि घटनामा सहआरोपी बनाएको छ। विभिन्न महिलालाई विवाहको नाममा ठगी गरी उनीहरूको सम्पत्ति हत्याउन छोराले समेत बुबालाई सहयोग गरेको अनुसन्धानबाट खुलेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖