• Monday 5th of October 2026

बस र माइक्रो भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु,तीन घाइते


  • धनकुटा खबर
  • .

नुवाकोट । नुवाकोटमा बस र माइक्रो भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा पार्किङ गरेर राखिएको ईभी माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुर्घटना भएको हो।

शुक्रबार बिहान करिब ८:२५ बजे बा.प्र.०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडकछेउमा रोकिराखेको बा.प्र.३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट करिब ३०/४० मिटर तल भिरमा खसेका थिए।

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने करिब २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की करिब ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने करिब ६० वर्षीया ज्ञानु श्रेष्ठ रहेका छन्। तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖