• Monday 5th of October 2026

बसपार्कमा पार्किङ विवादमा धारिलो हतियार प्रहार, चार जना घाइते


  • धनकुटा खबर
  • .

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयमा भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान करिब ११:३० बजे मनहरी गाउँपालिका–१ मकरीका ३१ वर्षीय लक्ष्मण बर्तौला र अन्य व्यक्तिबीच गाडी पार्किङलाई लिएर भनाभन भएको थियो। विवाद उग्र बन्दै गएपछि धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका हुन्।

घाइते हुनेमा मनहरी गाउँपालिका–६ का २७ वर्षीय जीवन गोले, चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रिन, ओखलढुङ्गाको सिंहदेवी गाउँपालिका–७ का २८ वर्षीय राइज आले मगर र चितवनको राप्ती नगरपालिका–४ डडुवाका २८ वर्षीय जीवन तामाङ रहेका छन्।

घाइतेमध्ये गोले र पाख्रिनको अवस्था मध्यम रहेको छ भने मगर र तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। हेटौँडामा प्राथमिक उपचारपछि चारै जनालाई थप उपचारका लागि चितवन पठाइएको छ।

घटनालगत्तै अनुसन्धान तथा खोजतलास तीव्र पारेको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ३३ वर्षीय सुनिल थिङ, हेटौँडा–१५ भोर्लेका २८ वर्षीय करण लामा र मनहरी गाउँपालिका–१ मकरीका २३ वर्षीय उज्ज्वल बर्तौला रहेका छन्।

नियन्त्रणमा लिइएका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै, भक्तपुरको सूर्यविनायक नगरपालिकाका अन्य व्यक्तिहरूमाथि समेत शंकाका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖