सञ्जय मिश्रा,रौतहट, ३१ साउन । रौतहट प्रहरीले फैसला कार्यान्वयन तथा सीमा क्षेत्रमा हुने अवैध चोरी पैठारी नियन्त्रणलाई तीव्रता दिएको छ।
प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका १३ प्रतिवादीलाई पक्राउ गरेको छ भने भारतबाट भन्सार छली नेपाल भित्र्याइएका १ लाख ४९ हजार रुपैयाँभन्दा बढीका सामान बरामद गरेको छ।
फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट परिचालित टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेकाहरू चोरी तथा डाँका, चेक अनादर, कुटपिट तथा गाली बेइज्जती लगायत मुद्दामा अदालतबाट फैसला भई फरार रहेका व्यक्ति हुन्।
पक्राउ परेका १३ जनामध्ये एक जनालाई चोरी तथा डाँका मुद्दामा ४ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। अन्य प्रतिवादीलाई विभिन्न मुद्दामा जरिवाना हुने फैसला भएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका १३ जनाको हकमा कुल ४ महिना १९ दिन कैद र १६ हजार रुपैयाँ जरिवाना कार्यान्वयन हुने भएको छ। पक्राउ गरिएका सबैलाई रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको प्रहरीले जनाएको छ।
