• Monday 5th of October 2026

कलंकीबाट पब्जीमा जितेको डायमण्डको रकम माग्दै युवक अपहरण, ७ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको कलंकीबाट एक युवक अपहरणमा परेका छन्। जनकपुर घर भएका २६ वर्षीय नवीन रायलाई साउन २८ गते सात जनाको समूहले अपहरण गरेको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नागार्जुन नगरपालिका–५ छग्डोलबाट हातखुट्टा बाँधेर यातना दिइरहेको अवस्थामा रायको उद्धार गरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार अपहरणमा संलग्न मुख्य आरोपी रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ घर भई हाल कलंकी बस्ने ३२ वर्षीय मनोज बुढाथोकी हुन्।

बुढाथोकीको सामाजिक सञ्जालमार्फत ‘रोहित’ नाम गरेका भारतीय नागरिकसँग चिनजान भएको थियो। रोहितले डलर कार्ड लोड गरिदिने भन्दै सामाजिक सञ्जालमा विज्ञापन राखेका थिए। उनीहरूबीच भर्चुअल मुद्रा तथा पब्जी खेलमा जितेको डायमण्डको रकमलाई लिएर कारोबार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

रोहितले पब्जीमा जितेको भर्चुअल डायमण्डबापत मनोजले १२ लाख रुपैयाँ पाउनुपर्ने र उक्त रकमलाई यूएसडीटीमा रूपान्तरण गरेर थप रकम दिने बताएका थिए। डायमण्डबापतको रकम डलर कार्डमा लोड गरिदिने भन्दै रोहितले सहयोगका लागि नवीनलाई कलंकीस्थित भेटघाट क्याफेमा पठाएका थिए।

नवीन ठमेलस्थित रोयल क्याफे एन्ड थकाली भान्छाघरमा कफी मेकरका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। भेटघाट क्याफेमा पुगेका नवीनलाई मनोजसहितको समूहले नियन्त्रणमा लिएर नागार्जुन पुर्‍याएको थियो।

त्यहाँ नवीनको हातखुट्टा बाँधेर डायमण्डबापतको १८ लाख रुपैयाँ माग्दै यातना दिइएको प्रहरीले जनाएको छ। तर, नवीनलाई रोहित र मनोजबीच भएको रकमसम्बन्धी कारोबारबारे कुनै जानकारी नभएको एसएसपी खड्काले बताए।

प्रहरीले अपहरणमा संलग्न मनोज बुढाथोकीसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको मालारानी–३ का प्रदीप पोखरेल, ओखलढुंगाको लिखु गाउँपालिका–५ का निमेश कार्की, काभ्रेको भुम्लुका देवकुमार श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिकाका जेनिश चौधरी, चितवनको राप्ती नगरपालिका–२ का अमित ओली र मकवानपुरको बागमती गाउँपालिकाका निशान रुम्बा रहेका छन्।

नवीनलाई समूहसँग भेट्न पठाउने भारतीय नागरिक ‘रोहित’ भने सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖