काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ।
सोमबार आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले पुरस्कार विजेताको घोषणा गरेका हुन्।
यस पटक गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका छन्।
विभागका अनुसार साउन १६ गतेदेखि ३१ गतेसम्मको १७ दिने उपहार योजनामा कुल कारोबार संख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको थियो। यही कारोबारबाट १७ जना विजेता छनोट गरिएको हो।
छनोट भएका १७ जनामध्ये प्रत्येकले १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्। कर कट्टीपछि उनीहरूले प्रतिव्यक्ति १ लाख रुपैयाँ खुद प्राप्त गर्नेछन्।
यिनै १७ विजेतामध्ये एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ प्राप्त गरेका हुन्।
