नवलपरासी (बर्दघाट सुस्ता पूर्व) — गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालक शिवान तामाङको सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।
भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किएपछि नाति शिवान घरमा नभएको थाहा भएको थियो।
स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजी गरे पनि बालक फेला नपरेपछि प्रहरीलाई जानकारी गराइएको थियो। बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा सकुशल फेला पारिएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तको जिम्मा लगाइएको छ।
