• Monday 5th of October 2026

शिक्षिकाले थप्पड हान्दा कक्षाकोठामै ढलेका बालकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । भारतको विशाखापट्टनममा शिक्षिकाले कुटेको केही समयपछि ६ वर्षीय बालकको मृत्यु भएको छ।

विशाखापट्टनमस्थित लिटिल गार्डन्स स्कुलको यूकेजीमा अध्ययनरत प्रणय तेजाको बिहीबार मृत्यु भएको हो। होमवर्क नगरेको भन्दै शिक्षिकाले बालकलाई कक्षाकोठामै कुटपिट गरेको बताइएको छ।

घटनाको सीसीटीभी फुटेजमा शिक्षिकाले बालकलाई थप्पड हानेपछि उनी शिक्षिकाकै काखमा ढलेको देखिएको छ। परिवारका सदस्यले शिक्षिकाको कुटाइपछि बालक अत्यधिक डराएका कारण हृदयाघात भएको आरोप लगाएका छन्।

प्रहरीका अनुसार बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

सामाजिक सञ्जालमा कक्षाकोठाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि घटना बाहिर आएको हो। फुटेजमा होमवर्क नगरेको भन्दै बालकलाई लज्जित बनाउने प्रयास गरिएको र कुटपिट गरिएको दृश्यसमेत देखिएको बताइएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको अध्ययन गर्नुका साथै बालकलाई पहिलेदेखि कुनै स्वास्थ्य समस्या थियो वा थिएन भन्नेबारे पनि अनुसन्धान गरिरहेका छन्।

बालकको मृत्युको वास्तविक कारण पुष्टि गर्न प्रहरीले पोस्टमार्टम रिपोर्टको प्रतीक्षा गरिरहेको जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारणबारे थप स्पष्ट हुने बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖