चितवन । चितवनको खैरहनी नगरपालिका–१, तरकारी चोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो करिब १२ः२३ बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३०/३२ वर्षीय पुरुष र मोटरसाइकलको पछाडि सवार अन्दाजी २५/२६ वर्षीया महिला गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवैको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।
दुर्घटनापछि बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्के र दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
