काठमाडौं । चितवनको भरतपुर महानगरपालिकास्थित एक रिसोर्टमा १५ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा एक जनाविरुद्ध जाहेरी दर्ता भएको छ।
पीडित परिवारले भरतपुर महानगरपालिका–७ निवासी २८ वर्षीय सन्देश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन्।
जाहेरीअनुसार साउन ३१ गते भट्टले बालिकालाई भरतपुर महानगरपालिका–४ स्थित मिसन सफल प्रालि नामक रिसोर्टमा लगेर बलात्कार गरेको आरोप छ। आरोपीले पूर्वयोजनाअनुसार रिसोर्टमा कोठा बुक गरी बालिकालाई फकाएर त्यहाँ लगेको जाहेरीमा उल्लेख गरिएको छ।
रिसोर्टको कोठामा पुगेपछि भट्टले ढोकामा चुकुल लगाएर बालिकामाथि बलात्कार गरेको र बालिकाले प्रतिकार गर्दै चुकुल खोलेर भाग्न सफल भएको जाहेरीमा दाबी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले पीडित पक्षबाट जाहेरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।
बलात्कारको आरोप लागेका भट्ट भने हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
