काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
मंगलबार बिहान काठमाडौँ महानगरपालिका–१० स्थित पुरानो संसद भवन नजिकै ड्युटीमा खटिएकी महिला प्रहरीमाथि जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायतले आक्रमण गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार आक्रमणमा संलग्न कठायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनका अनुसार महिला प्रहरीले आकाशे पुलबाट बाटो काट्न आग्रह गरेपछि कठायतले विवाद गर्दै प्रहरीमाथि आक्रमण गरेका थिए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार आकाशे पुल नजिकैबाट बाटो काट्न खोजेपछि महिला प्रहरीले दुर्घटनाको जोखिम हुने भन्दै आकाशे पुल प्रयोग गर्न आग्रह गरेकी थिइन्। त्यसपछि युवकले एक्कासि प्रहरीमाथि आक्रमण गरेको उनले बताए।
एसपी सुवेदीका अनुसार पिक आवरमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको सहयोगमा कठायतलाई नियन्त्रणमा लिइएको हो।
घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको छ।
